चार्ल्स डार्विन बाजेको नाति म मानव ।
विकास चक्रले खारिएको मानव ।
तर कहिले काँही आफ्नै छुल्याई हेर्दा ।
हात र छाती भरि रौँ हरु हेर्दा ।
लाग्छ डार्बिन बाजेको विकास जारी छ।
अझै पूर्ण विकसित भैनसके झै लाग्छ।
आफ्नै दुनो सोझ्याउन अझै छुल्याइ गर्छु।
मै खाउ मै लाउ नीच स्वार्थी बन्छु।
शंका छ डार्बिन बाजेको होइन कि नाति।
किन त म घाती,प्रतिघाती,अन्तर्घाती ।
आफ्नै जग उखल्ने अझै छु चकचके ।
आफ्नै धुरी खोतल्ने अझै छु चकचके।
समालिन गारो भो चढी दिन्छु धरान ।
रोटी बाँड्ने निहुँमा सेक्छु आफ्नै घरान ।
घर चलाउने ढंग देख्दिन यी जनमा ।
लाजमर्दो के बस्छौ,जाऊ बरू वनमा ।
पेटमा माड छैन, मुखले चिल्लो घस्छौं।
मनका लड्डु घिउसँग कति ख्वाउँछौं ।
आफै सर्विज्ञ, ब्राम्हण बेत्ता ठूलै छ अहंकार।
माखो नमार्ने डार्विनको नाति तिमीलाई घोर धिक्कार।
सूर्य बस्नेत
ललितपुर