वास्तविक म, र तिम्रो सर्त अनुसारको म बीच ठूलो अन्तर छ प्रिय। तिमीलाई लाग्छ, मैले चाहेको तिमी र पाएको तिमीमा फरक भएर म खुशी छैन। तर तिमीले बुझेको रिस वास्तवमा मैले भोगिरहेको पीडा हो। मेरो ठाउँबाट हेर, मैले तिमीलाई कहिले पाएकै छैन। मलाई उदास देखेर कहिले काँही तिमीले भनेको हुन्छौ, मलाई माया गर्छौ अरे। तर मैले त्यो माया बुझ्न सकेको छैन, महसुस गर्न सकेको छैन, त्यसको सुवास पाएको छैन, तिम्रो व्यवहारमा, आँखामा, स्पर्शमा भेट्न सकेको पनि छैन।

तिमीलाई दिन मन लागेको बखत जे दियौ, त्यो वास्तविक म लाई कुल्चेर, तिम्रो सर्त अनुसारको म लाई मात्र दियौ। यदि तिमीलाई लाग्छ तिमीले मेरो लागि केहि गरेको छौ भने अलि गौर गर्नु त्यो म होइन तिम्रो सर्त अनुसारको म को लागि गरेको थियौ।

बारम्बार तिमीले कुल्चेर हिडेको म त अब अन्तिम साँसहरु गन्दै छ। उस्को कुनै अन्तिम इच्छा पनि छैन, उ मरे पछि उस्को आत्माको शान्तिका लागि अन्तिम संस्कार पनि हुने छैन किनकी उ केवल तिम्रो बनेर बाँच्न चाहन्थी तर तिमी उस्को मलामी जान सम्म तयार छौनौ। उ त्यसै सडेर गलेर माटोमा मिसिने छ।

प्रेमको बारेमा जे सुनेर, देखेर, बुझेर म हुर्केँ, हुर्किरहँदा सपना बुनेँ र कल्पना गरेँ, त्यसमा र हाम्रो सम्बन्धमा केहि मात्र फरक छ। फरक यति मात्र छ कि यो प्रेम म र तिमी बीच छैन; तिम्रो सर्त अनुसारको म र तिमी बीच छ। दुईजना सँगसँगै हिँँडेका छैनौँ; म सधैँ तिम्रो पछिपछि हिडेको छु। हामी सँगै हाँसेका छौँ तर नाचेका छैनौँ। म तिम्रो इसारामा नाच्दछु। मलाई तिमीबाट साधारण इच्छा अपेच्छा राख्ने अधिकार पनि छैन। केवल दाइत्व छ, तिमीलाई रिझाउने, फकाउने र डराउने।

तिमीलाई हेर्न मन लागेको बेला मात्र म तिमी सामु आउन पाउने, तिमीलाई सुन्न मन लागेको बेला मात्र म बोल्न पाउने, तिमीलाई सुन्न मन लागेको मात्र म बोल्न पाउने, तिम्रो इच्छा अनुसार सब गर्नु पर्ने, सधैँ म अघि सर्नु पर्ने। तिमीले मेरो मनै टुट्ने गरी मलाई झुकायौ, झुक्दै गएँ, रुवायौ, रुँदै गएँ, नचायौ, नाच्दै गएँ, भाग्यौ, पछ्याउँदै गएँ। तिमीले आफ्नो इच्छा अनुसार मलाई अँगाल्न, लत्याउन, आउन र जान पाउने ससर्त यो प्रेममा मैले आफूलाई हराइ दिएँ।

विगत सम्झिन्छु, कसरी यो सम्बन्ध बन्यो? के का लागि बन्यो? सबभन्दा पवित्र मानिने यो प्रेमले मलाई किन दुख दिइरहेको छ? दुईको सरोकार हुनु पर्ने सम्बन्धलाई एक्लै निभाउन बाध्य मान्छे अरु पनि छन् कि म मात्र हो? यस्तै अनेक प्रश्नले मलाई जकडेको छ। यस्ता अनेकौँ अन्योल बीच एउटा मात्र कुरा मलाई प्रष्ट थाह छ। मैले तिमीलाई गरेको प्रेम स्वयम म भन्दा पनि ठूलो छ।

अनेक सफल र असफल प्रेमकथा मैले सुनेको छु। सफललाई अनुशरण र असफबाट सिकेर आफ्नो प्रेमकथालाई सुन्दर, सफल र जीवन्त बनाउन सकिन्छ भनेर बुझेको पनि छु। त्यसैले तिमी र तिम्रो सर्त अनुसारको म बीचको प्रेम सफल बनाउन म वास्तविक म को आहुति दिँदै छु।

कत्ति छोटो समयमा माया बस्यो पनि, हरायो पनि र तिमीसित ससर्त सम्झौता भयो पनि।

मलाई तिम्रो असाध्यै माया लाग्छ तर आजभोली माया भन्दा बढी डर लाग्छ। मेरो मन, सपना, उमङ्ग, खुशी, इच्छा सबै मारेर पनि यो सम्बन्ध बचाउन सक्छु कि सक्दिनँ होला? सायद तिम्रो साथ बिना सक्दिनँ होला।

तिम्रो लागि पनि प्रेम अनमोल होला, तर प्रेमिका खरानी बराबर छ। खरानी भएर होला, मलाई सम्बन्ध टुटाउन डर लाग्छ, तिमी वीर बहादुर छौ, मलाई छोडेर हिँडिदिन एक पल सोच्दिनौ।

सानै देखि सुनेको, आफ्नो कमजोरी दुश्मनलाई भन्न हुन्न। तर जुन दिन देखि तिमी मेरो कमजोरी बन्यौ, म आफै आफ्नो दुश्मन बनेको छु।

तर यो सबमा तिम्रो कुनै दोष छैन, तिमीले कहिले भन्यौ र म खास छु, कहिले महसुस गरायौ र म महत्वपूर्ण छु, कुन व्यवहारले देखायौ र तिमीलाई मेरो फिकर छ? कहिले इसारा दियौ र तिमीले हाम्रो सम्बन्धको जिम्मेवारी लिनेछौ भनेर।

यो सब मैले आफै अपेच्छा गरेँ। म गलत थिएँ। म आज पनि गलत छु। म भोली पनि गलत नै भइ रहन तयार छु। त्यसैले म हारेको थिएँ, आज पनि हारेको छु, भोली पनि हार्नेछु। किनकी तिमी सही थियौ, सहि छौ र सहि नै रहने छौ। त्यसैले तिमी सधैँ जित्छौ। तिमीलाई जिताउन कै लागि म, म बाट तिम्रो सर्त अनुसारको म भइ दिएँ।

जब तिमीलाई भेटेको थिएँ, गजबको खास अनुभुति भएको थियो। सबभन्दा खास लागेर होला, म डोरिँदै गएँ तिम्रो पछि, केहि समय त दगुरे पनि तिम्रो पछि तर केहि गरेर पनि तिमीसँग हिड्न सकिनँ। सधैँ पछि मात्र रहेँ। किनकी तिमीसँग हिँड्नेहरुको हुल छ। तिम्रो परिवार, साथीभाइ, इष्टमित्र, नातेदार, सौक साधन र अरु पनि धेरै छन् जो सँगसँगै तिमी हिँड्न रुचाउँछौ, त्यसमा मेरो आपत्ती पनि छैन, केवल आफू पछि परेकोमा खेद छ।

केहि समय नबित्दै मैले थाह त पाइ सकेको थिएँ, तिम्रो जीवनमा मेरो लागि ठाउँ खाली छैन भनी। तर म आफ्नो नयाँ ठाउँ बनाउँछु भनेर अगाडि बढ्दै गएँ। अति नै आशावादी मान्छे जो थिएँ। तिम्रो परिवार, साथीभाइ, इष्टमित्र, नातेदार, सौक साधन र अरु पनि सबै बस्ने ठाउँ भन्दा पनि एउटा ठूलो खाली ठाउँ देखेथेँ तिम्रो जीवनमा जुन रिस, दम्भ, झुट, बहाना, गैरजिम्मेवारीपन र अनेक नकारात्मकताले ओगटेको थियो। तिम्रो प्रेममा पागल मैले त्यो विरानो मै हाम्रो प्रेमको रौशनीको सहारामा बस्ने धेरै प्रयास पनि गरेँ।

तिम्रो जीवनमा भईरहेको कुनै व्यक्ति वा सौकको सुन्दर ठाउँ कब्जा गर्ने नियत कहिले थिएन। मैले मेरो खास स्थान तिम्रो अन्धकारलाई चिरेर बनाउने प्रयाास गरेँ। तर असफल भएँ। आज यति परसम्म म आइ पुगेको छु कि यहि अँन्धकार मै हराएको छु म।

तिमीले जीवनको कुनै मोडमा मलाई भेट्यौ, हाँस्यौ बोल्यौ, बसि बियालोको समय कटायौ र सामान्य भयौ। फेरि नयाँनयाँ मोडहरु भेट्दै गयौ, नयाँनयाँ चिजमा भुल्यौ। तर तिमीतिर मोडे पछि मेरो जीवनको सारा मोडहरु हराएँ, अब केवल सिधै अगाडि हिँडने विकल्प छ, म फर्किन पनि त सक्दिनँ। आज अन्धकारमा हराएको छु, निसासिएर छट्पटिँदै छु। कसैको कल्पना भन्दा कयौँ गुणा ठूलो छ यो अन्धकार। विश्वासको घ्यू र आशाको बत्ति बोकेको मैले उमङ्गको दियो नै बाल्न सकिनँ, अक्सिजन नै छैन यहाँ। सबै ढोकाहरु बन्द जो छन्।

आश र विश्वास त उहिले टुटाइ सक्यौ तिमीले, अब मेरो साँस टुट्ना साथ तिमीले पूर्ण रुपले आफ्नो सर्त अनुसारको म पाइ हाल्ने छौ। जो मेसिन जस्तै तिमीले चाहेको बेला अन अफ हुनेछ, तिमीले चाहेको मात्र गर्ने छ, बोल्ने छ। जस्को कुनै इच्छा, कुनै भावना, कुनै जीवन्तता हुनेछैन।

त्यो म को लक्ष्य केवल तिमीलाई चाहिएको बेला मनोरञ्जन दिने, तिम्रो दिल खु्शी बनाउने हुनेछ।

र मात्र यो सम्बन्ध पूर्ण सफल हुनेछ। तिमी र तिम्रो सर्त अनुसारको म को मन एउटै हुन्छ र कुनै मतान्तर हुने छैन। तिम्रो आफ्नो बनेर तिमीलाई आफ्नो बनाउन नसके पनि, तिम्रो सर्त अनुसार ढलेर तिमीलाई खुशी अवश्य दिने छु।

मैले बोल्ने वचन, खोज्ने अधिकार, सत्य र न्यायको लागि उठाएको आवाजको आयु वास्तविक म सँगै मरेर जानेछ। त्यस पश्चात तिमी र तिम्रो सर्त अनुशारको म सित तिम्रो जीवन सुखद रहोस्, शुभकामना छ।

रितु गुप्ता
बीरगंज १०, पर्सा