मलाई अहिले तिमिले बचाउ : म तिमिलाई पछि संकटको समयमा बचाउँछु

हामी मध्ये अधिकांशको आफुले कमाई गर्न थाले पछि आफनो बर्तमान जिवनस्तरलाई चाहे अनुसारको सुधार होस भन्ने चाहना हुन्छ । तर त्यो चाहना कसरी पुरा हुन्छ वा गर्ने भन्ने सहिबाटो भने हिंडन भुल्दछौ र पुरागर्न सक्दैनौं । हुंदा खाने अवस्थाबाट हुने खाने स्तर सम्म पनि पुग्न सक्दैनौ । अर्थात बचत गर्ने बानिको बिकास गर्दैनौ । यसको ज्वलन्त उदाहरण अहिलेको कोरोनाको प्रकोपको असरलाई नियाल्दा थाहा पाउन सकिन्छ । कतिपय मानिसहरु बन्दा बन्दी शुरु भएको एक हप्ता भित्रमा हातमुख जोर्ने समस्यामा परेर राहतको भरोसामा जिवन बिताउन बाध्य बने भने कतिपय एक महिना सम्म टिक्न सके भने पछि पछि त्यसले धेरैलाई लपेटन शुरु भयो। साना तथा मझौला उद्योगी ,ब्यवसायीहरु र ठुला उद्योगी ब्यवसायहरु समेत कामदार तथा मजदुरहरु कटौती गर्न बाध्य भए भने करीब २५ प्रतिशत ब्यक्तिहरुले त पुणर् रुपमा आफनो रोजगारी गुमाएको तथ्याङ्क हालसालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आंकडाले जनाउदछ । जसमा पर्यटन उद्योगमा संलग्न ब्यक्तिहरुको संख्या बढी रहेको देखाएको छ ,भने अन्य क्षेत्रहरु कम प्रभाबित भएको भनिएको छ । रोजगारी पाएकाहरुको पनि पहिलेको भन्दान कम सुबिधामा काम गर्नु पर्ने बाध्यता रहेको देखीन्छ । सरकारी र संगठित संघ संस्थाहरुमा स्थायी कर्मचारीहरु भने बढी सुरक्षित देखिएको पाईन्छ । उनिहरुको पनि केही सुबिधाहरु कम गरिएको छ । यही समयमा भएको उच्च मुल्य बृद्धिको चपेटामा भने हुंदा खो मात्र हैनन हुने खाने भनाउदाहरु पनि पिल्सीएका छन । यसमा मध्यम बर्गका मानिसहरु बढी निचोरीएको पाईन्छन । यसको कारण बचत गर्ने बानीको बिकासको अभाव नै हो ।

बचत ब्यक्तिको बर्तमानको आम्दानी मध्येबाट भविष्यको खर्चको निमित्त एक निश्चित प्रतिशत रकम छुट्टयएर राख्ने प्रकृया हो । जसको आशय भविष्यमा आई पर्ने अनिश्चित कालिन समस्याहरुबाट पार पाउन सकियो र सम्पत्तीको बिकास र बृद्धि गर्न पनि सकियोस भन्ने हो। अर्थात बर्तमान र भाबी जिवनयापन सुनिश्चित होस । आफनो जिवनस्तरलाई चाहेअनुसार आबश्यक मात्रमा सुधार गर्दै लग्न सकियोस । “जिवनमा कुनै आपत्ती वा दुःख कष्ट आदी नभएको अवस्थामा जिवन यापन गर्न सकियोस भनेर कल्पना गरिन्छ भने पैसाको आवतजावत निरन्तर रुपमा भैरहने बाटोको निर्माण गर्न सक्नु पर्दछ ।” त्यसको प्रमुख उपाय भनेको बचत गर्ने बानीको बिकास नै हो ।
बचत गर्ने बानी बसाल्न आफनो आम्दानी रकमलाई बजेट पद्धती अपनाएर आफनो खर्चका क्षेत्रहरुमा बाडफांड गर्ने अभ्यासको थालनी गर्न आबश्यक हुन्छ । यसमा आफनो मासिक आम्दानी रकममा कर योग्य आय रहेको छ भने कर कट्टी पछिको खुद आम्दानी रकमबाट बचत गर्ने रकम छुट्टयाएर बांकी रकम खर्चका शिर्षकहरुमा बांडफांड गरेको खण्डमा बचतलाई निरन्तरता दिन सकिन्छ भने अनियमित खर्चहरुलाई नियन्त्रण गर्न सकिन्छ । बचतको अंशलाई कमसे कम २० प्रतिशत भन्दा कम नगर्ने प्रतिबद्धता गर्नु पर्दछ । बांकी ८० प्रतिशत मध्येबाट दैनिक जीवनयापन वा अत्याबश्यक खर्चहरुको निमित्त रकम बिनियोजन गर्ने र त्यसबाट बांकी रकमलाई मनोरन्जन तथा ईच्छा पुरा गर्ने खर्चको रुपमा राख्ने । यो बिधिलाई ब्यवहारमा ल्याउदा बचतलाई निरन्तरता दिन सकियो भने आफनो दैनिक जीवनयापनको स्तरलाई कायम राख्नसकीनाका साथै आफनो र परिवारका सदस्यहरुको मनोरन्जन लागी समेत रकमको ब्यवस्था गर्न सकिने भएकोले कुनै पनि क्षेत्रमा पैसाको अभावको महसुश गर्न पर्ने अवस्था रहंदैन ।

बचत गरिने २० प्रतिशत रकमलाई पैसाको रुख रोप्न बिऊको रुपमा प्रयोग गर्ने । जसले गुणत्मक रुपमा दीर्घकाल सम्म फल प्रदान गर्न सक्ने गरी हरेक मौसममा फल प्रदान गर्न सक्ने बिरुवाहरु जस्तै पैसाको बिरुवाहरुको खेती गर्ने । यो खेती गर्दा दुईवटा कुराहरुमा ध्यान दिन आबश्यक हुन्छ । एक सावांमा कहिल्यै क्षती नहोस भन्ने तर्फ ध्यान दिने ,अर्को कुरा पहिलो कुरालाई कहिल्यै नभुल्ने । यसको निमित्त आफनो नियमित आम्दानी जम्मा हुने खाता भन्दा बेग्लै बचत बृद्धि खाता खोलेर हरेक महिना तोकिएको प्रतिशतको रकम उक्त खातामा स्वत रकमान्तर हुने गरी नियमित गर्ने । बर्ष भरीमा उक्त बचत खातामा संकलीत रकमलाई उच्च ब्याजदर प्राप्त हुने मुद्धती निक्षेप खातामा परिणत गर्ने । यो कार्यलाई निरन्तरता दिंदै जाने । मुद्धती खाताबाट प्राप्त हुने ब्याज रकमलाई त्रैमासिक रुपमा आर्जन भएको रकमको आधारमा सामुहिक लगानी कोष, बिभिन्न कम्पनीहरुको प्रारम्भीक शेयर खरिद आदीमा बिभाग मिलाएर लगानी गर्दै जाने । प्राथमिक शेयको लगानीमा संख्यात्मक रुपमा बृद्धि भए पछि त्यसको ब्यापार (खरिद बिक्रि) को कार्य शुरु गर्ने । यसबाट प्राप्त भएको पुंजीगत लाभ आयलाई घर तथा जग्गा जोडनमा प्रयोग गर्ने । सुन चांदी जस्ता खास सम्पत्ती जोडने (गहना) हैन, शुद्ध सुन चांदी खरिद गरी राख्ने । यस्तै सरकारी तथा संस्थागत ऋणपत्रहरुको खरिद गर्ने । यसरी ब्यक्तिको निश्कृय आम्दानीको श्रोतहरुमा एक पछि अर्को गरेर बृद्धि र बिस्तार हुंदै गए पछि पैसाको बहाब निरन्तर हुन्छ । ब्यक्तिले कामै नगर्दा पनि पैसाले उसको निमित्त निरन्तर रात दिन काम गरिरहेको हुन्छ र अभाबको अनुभव गर्न पर्ने अवस्था रहंदैन । चाहे जस्तो घरमा,चाहेजस्तो गाडि चढेर चाहेको समयमा चाहेको ठाउमा भ्रमण गर्न सकिन्छ ।

तर यो यति सजिलो भने छैन । यदी त्यत्ती सजीलो भएको भए बिश्वको कुल जनसंख्याको कम प्रतिशत मात्र खरब पती अरब पति किन हुन्थे ? अति सम्पन्न,सम्पन्न ,मध्यम बर्ग र निम्न बर्ग आदीमा किन बर्गिकरणमा पर्दथे र त ? यसको निमित्त कडा वित्तीय अनुशासन, धैर्यता ,प्रतिबद्धता ,बित्तीय ज्ञान हांसील गर्ने कार्यलाई निरन्तरता ,जोखिम बहन गर्न सक्ने क्षमतामा बिकास जस्ता आदी क्षमताहरुको बिकास गर्न आबश्यक हुन्छ । खरब पती ,अरब पति बन्न आफनो ज्ञान,सीप र समय बेच्ने होईन कि अरुको ज्ञान,सीप र समय किन्न सक्ने क्षमताको बिकास गर्न सक्नु पर्दछ । कमसे कम वित्तीय अभावको स्तरबाट मुक्त हुनको निमित्त पनि ब्यक्तिले त्याग र बलिदान गर्न आबश्यक हुन्छ । त्यो भनेको खर्चलाई नियमित गरी बचतलाई बृद्धि गर्न बजेट पद्धतीको पालना,फजुल खर्चहरुमा नियन्त्रण, आफनो आम्दानी भन्दा कम खर्च गर्ने बानीको बिकास,अरु संग होईन स्वयंसंग प्रतिस्पर्धा गर्न सिक्ने,देखावटी जिवन होईन वास्तबिक धरातलमा बांच्न सिक्ने । जुन चिज आफनो जिवनयापनको निमित्त अत्याबश्यक छ त्यो मात्र किन्ने अनाबश्यक चिजहरु थुपारेर घरमा फोहर बनाउने तर्फ नलाग्ने । बिज्ञापन र लोभलालच छाडने जस्ता कुराको अभ्यास गर्न आबश्यक हुन्छ । वित्तीय साक्षरताको ज्ञानले बित्तीय स्वतन्त्रता र वित्तीय सुनिश्चितता प्रदान गर्न सीकाउदछ ।

जगजीवनराम श्रेष्ठ

बकाश प्राप्त बरिष्ठ प्रबन्धक   

राष्ट्रिय बाणिज्य बैंक