रितु गुप्ता

माया, तिम्रो सम्झनामा, मैले, रमाउन पाउने हो कि नाई?
खाँचो परि मैले बोलाउँदा, तिमी, भेट्न आउने हो कि नाई?

निहुँ सानो होस् कि ठूलो, रिसाउँदा, फकाउने हो कि नाई?
मैले किचकिच गरेँ भने, सहेर, कुरा सकाउने हो कि नाई?

अस्त–व्यस्त–मस्त भए पनि, मेरो, फोन उठाउने हो कि नाई?
भेट्न नसके चिठ्ठी भरी, माया, लेखि पठाउने हो कि नाई?

म अल्छि छु, घरको काममा, मलाई, सघाउने हो कि नाई?
तिमी र म सधैँ हामी भइ रहँदा, मन, अघाउने हो कि नाई?

म नाच्दा तिमीले मादल बजाउँदै, गीत, गाउने हो कि नाई?
तिमीले मलाई मन पर्ने रंगको, लुगाहरु, लाउने हो कि नाई?

उत्सव मनाएको बेला मसँग सँगै, कम्मर, मर्काउने हो कि नाई?
कोइ सुन्दर मान्छे मसित हाँसे बोले, आँखा, कर्काउने हो कि नाई?

कानमा केही खुसुक्क भन्न मलाई, डाकेर, बोलाउने हो कि नाई?
काम नहुँदा फुर्सदमा मलाई सम्झेर, तिमी, टोलाउने हो कि नाई?

मातेर चिप्लिन लाग्दा तिमीले, काँखमा, समाउने हो कि नाई?
साथीभाइको हुल छोडी कहिले जून, हेरी, रमाउने हो कि नाई?

ए साँच्चै, तिमीले मेरा भावनाका, कुरा, पत्याउने हो कि नाई?
तिम्रो नजिक आउने, नकचरीहरुलाई, लत्याउने हो कि नाई?

मेरा सौक धेरै छन्, पुरा गर्न अहोरात्र, खटि, कमाउने हो कि नाई?
भन माया, तिम्रो मुटुको लगाम मेरै, हातमा, थमाउने हो कि नाई?

सधैँ चाहेको कुरा दिन नसके, चित्त, बुझाउने हो कि नाई?
अनायासै जिद्दि गर्दा, नझर्की, मागेको पुराउने हो कि नाई?

बिरामी हुँदा मलाई स्याहार गर्दै, डाक्टरसित, जाँचउने हो कि नाई?
अनुकुल होस् कि प्रतिकुल परिस्थिति, साथ, निभाउने हो कि नाई?

सुन, डुब्न मन लाग्छ प्रेम सागरमा, तिमीले, बचाउने हो कि नाई?
कोइ कसैले मलाई आँखा लाउँदा, तिनलाई, धपाउने हो कि नाई?

तिम्रा आफ्न्तले मेरो कुरा काट्दा, तिनलाई, थर्काउने हो कि नाई?
जो सुकै होस्, मसित भनाभन पर्दा, जवाफ, फर्काउने हो कि नाई?

भन म रुँदा, दुखी हुँदा अघि सरेर, मलाई, हँसाउने हो कि नाई?
तिम्रा गाला मेरा गालासँग जोडेर, सेल्फी, खिचाउने हो कि नाई?

नढाँटी भन, म भोली नरहँदा तिम्रा, आँखा, रसाउने हो कि नाई?
उचाइमा डर लाग्दा तिमीले, अङ्गालेमा, कसाउने हो कि नाई?

बितेका कुराले मन अल्झाउँदा, तिमीले, फुकाउने हो कि नाई?
सानो छ कद मेरो माथ चुम्न आउँदा, शिर, झुकाउने हो कि नाई?

म निराश हतास हुँदा, मायाको, खुराक, बढाउने हो कि नाई?
मोटी छु, शिखर चढ्दै थाकेँ भने, बुई, चढाउने हो कि नाई?

चेतन–चेतनाको प्रेमको सुबास कथा, बनी, मगमगाउने हो कि नाई?
विश्वस्त पारदेऊ, यो प्रेमको दिप, सधैँ, जगमगाउने हो कि नाई?

यो कविता पढ्दै गर्दा तिम्रो मुहार, खिलखिलाउने हो कि नाई?
कल्पनामा मेरै तस्विर, त्यो आँखामा, झिलमिलाउने हो कि नाई?