आज मुसलधारे पानी पर्यो
कतै कतै असिना पनि झर्यो
म भित्रै देखि खुसी भएं
दगुरेर बाहिर पनि गएं
पानी दर्की रहेको थियो
आकाश थर्किरहेको थियो
अब त शहरको फोहोर पनि बगाउला
मर्न लागेका बनस्पतिलाई पनि जगाउला
संगै आएको हुरिले धुलो सबै उडाउला
अधकल्चो भएर बसेका संरचना पनि चुंडाउला
मलाई लाग्द्छ
भोलि सफा स्वच्छ सुन्दर देखिनेछ
फोहोर मेरो शहर भन्ने भ्रम पनि मेटिनेछ
आवरण पखालियो
धुलो उडायो
शहर सफा भयो
तर पनि
गन्ध आइनै रहेछ
किनकि मानिसको मन पखालेन
जकडिएको फोहोर बाहिर धकालेन
ढुसी परिसकेछ
त्यो मन भित्रको द्वेष त्यतिकै रह्यो
क्षणिक अत्तर छरे जस्तो ,फेरि उस्तै भयो
अस्मितामा बक्र दृष्टि लाउने गिद्दहरुलाइ
आफुलाइ साधु सन्त भनाउने सिद्धहरुलाइ
जरै बाट उखेलेर फाल्ने हुरि आउनु पर्छ
लरतरो लुरि होईन अब , एउटी सुरि आउनु पर्छ
त्यसैले
अब यहाँ झरी होईन बाढी आउनु पर्छ
फोहोरी मनहरु लाने ठुलै गाडी आउनु पर्छ

✍️चेतन खतिवडा
लालबन्दी -५ सर्लाही
हाल- महालक्ष्मी -५ टिकाथली ललितपुर